तथ्य र यथार्थपरक सूचना प्रवाह होस् : डा. तुलाधर

RSS
7
Shares

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सञ्चार जगतसँग आग्रह गरेकी छन् ।

स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आयोजित मिडिया अन्तरक्रियामा उनले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पुर्‍याउन सञ्चार क्षेत्रसँग अनुरोध गरिन् । आयुक्त तुलाधरले भनिन्, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।’

निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा. तुलाधरले निर्वाचनसम्बन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु पुर्‍याएर सहयोग गर्न आग्रह गरिन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र भएको बताए । उनले भने, ‘सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए नभएकोबारे तथ्यगत सूचना निःशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पुर्‍याएको छ ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नुपर्ने आवश्यकतामा जोड दिए ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताहरूबाट एक–अर्कालाई लाञ्छित गर्ने गरी आउने गरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?