बैतडी ।दशरथचन्द नगरपालिका–१ खाल निवासी वृद्ध अनशनमा बसेपछि स्थानीय तहले सडक निर्माण गरेको छ । ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर सडक निर्माणको माग गर्दै गत १४ देखि १७ जेठसम्म सडकमै अनशन बसेका थिए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
बजेट विनियोजन गरिएको भए पनि गाउँलेकै विरोधका कारण सडक निर्माण हुन सकेको थिएन भने विनियोजित बजेटसमेत अन्यत्रै रकमान्तरण गर्ने प्रक्रिया वडा कार्यालयले सुरु गरेको थियो । तर, वृद्धको अनशनपश्चात् वडा कार्यालयको पहलमा स्थानीय नागरिकले सडक खन्ने सहमति दिए । सबैको सहमतिपछि अहिले गुरुखोलादेखि खालसम्मको ग्रामीण सडक निर्माण भएको छ ।
टेर भन्छन्, ‘आज मेरो घरकै बाटो भएर हाम्रो गाउँदेखि थप १ किलोमिटर सडक खनिएको छ, म निकै खुसी छु, सडकका लागि छुट्याइए पनि अन्तै रकमान्तरण गरिन्थ्यो, गाउँ परिषद्मा मैले सडकको माग गर्दा मलाई विरोधीहरूले खुकुरीसमेत देखाए तर म पछि हटिनँ ।’
टेर अनशन बसेकै कारण गाउँलेहरू सडक खन्नका लागि जग्गा दिन पनि सहमत भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया