पोखराबाट पछि हट्यो कांग्रेस, एकीकृत समाजवादीले पाउने पक्का

लोकपथ
336
Shares

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरुसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए ।

तर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । जिल्ला सभापति बरालले देउवाले बाध्यता सुनाएपछि आफूहरु समाजवादीलाई नै महानगर छाड्ने बुझाइका साथ बालुवाटारबाट बाहिरिएको जानकारी दिए ।

अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । सोमबार नै भएको सहमतिअनुसार पोखराबाहेक अन्य महानगरमा भने तालमेलको सहमति जुटेको थियो । जसअनुसार वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो । बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी भएको थियो । आज सबै विषयमा अन्तिम रुप दिँदै महानगर तथा उपमहानगरको मेयर उपमेयरमा तालमेलबारे निर्णय लिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?