‘नैतिकता’ भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए

लोकपथ
0
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका विज्ञानराज शर्माले राजीनामा फिर्ता लिएका छन् ।

२० फागुनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै ‘लिग कमिटीको संयोजकबाट राजीनामा पेस’ गरेका शर्माले सोमबार (हिजो) भएको कमिटीको बैठकमा भने अध्यक्षता गरे ।

स्थगित भएको सी डिभिजन लिग र हालै सम्पन्न बी डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गरेका हुन् ।

‘उहाँ (शर्मा) को राजीनामा फिर्ता भएको छ र उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भयो ।’ लिग कमिटीका एक सदस्यले भने ।

जुन बैठकले बी डिभिजन लिगका क्रममा भौतिक सामग्री तोडफोड गरेको भन्दै नयाँ वस्ती युथ क्लबलाई तीन लाख जरिवाना साथै खेलाडी, अफिसियल र व्यवस्थापकलाई फुटबल गतिविधिमा केही समय संलग्न हुन नपाउने गरी कारबाही गरेको थियो ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएलमा शर्माले काठमाडौं रेजर्सबाट प्रतिनिधित्व गरेका छन् । पहिलो संस्करणका क्लब च्याम्पियन बन्दा नै शर्मा क्लबको डाइरेक्टर थिए ।

यसपछि उनले दोस्रो संस्करणमा भने दोहोरो भूमिकामा रहन नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिएका थिए ।

‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठयाराहरू आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाँदा राजीनामा पेस गरेको छु’, शर्माले पत्रमा लेखेका थिए ।

तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा प्रश्न उठेपछि एनएसएस आयोजनाबाट पछि हटेको हो ।

पछि शीर्ष डिभिजन क्लबले समेत एन्फालाई प्रश्न गरेपछि शर्माले एन्फाबाट हात झिकेर एनएसएललाई सहयोग गरेका थिए । तर, दोस्रो पटक आयोजना हुने तयारीमा रहेको एनएसएल अक्सनपछि अनिश्चित बनेको छ ।

एनएसएलमा जोडिएसँगै एन्फाबाट हात झिकेका शर्माको यो प्रवृत्तिलाई एन्फाभित्रैबाट देखावटी राजीनामाको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?