विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघकाे हारप्रति देउवाको चिन्ता

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए ।

उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानअनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको बताए । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनले बताए ।

उनले भने– ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन् । हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ । धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले । के बिगारेँ मैले ? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ । त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले ? राम्रै गरेको छु त मैले । यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी । गठबन्धन टुटेपछि फेरि त्यही हालत हुने हो । अस्ती जस्तो हालत भयो नि । ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको ? देशभरि कसरी हाम्रो साथी रोएका थिए ? हटाउनुपर्‍यो, हटाउनुपर्‍यो भनेको होइन ? त्यस कारण भोलि पनि त्यही अवस्था नआओस् । हामी सबैले के ध्यान दिनुपर्‍यो भने अहिलेको नयाँ संविधान बनेको छ यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन हेर्नुस् । कसै न कसैसँग त मिल्नैपर्‍यो । ओलीलाई हटाउनुपर्‍यो सबैले भने । ठीक छ हटायौँ । त्यसकारण अब यो गठबन्धनलाई अगाडि लिएर जानु छ । गठबन्धन भनेपछि गिभ एन्ड टेक हुन्छ नि । तपाईँलाई सबै कुरा दिनलाई त गठबन्धन बनेको होइन नि । उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो । ठीक छ, कांग्रेस पार्टी ठूलो पार्टी छ, ठूलै पार्टी होस् । सानो पार्टी हामी पनि हुन पाऔँ भनेका छन् उनीहरुले । उनीहरुको अधिकार हो नि । त्यति पनि नपाएर हुन्छ त्यो ? एउटा षड्यन्त्र हुँदै छ गठबन्धन तोड्ने । कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ । यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ ।’

उनले नेपाल विद्यार्थी संघले कुनै पनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए । उनले नेविसंघका नेताहरुलाई सहरकेन्द्रित नभई गाउँकेन्द्रित संगठन निर्माणमा जोड दिन आग्रह गरे । उनले भने– ‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरि नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ । किन हार्दै छौँ ? यो कुरा ध्यान दिनुपर्ने भएको छ । स्कुल त गाउँमा छ नि । जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन् । अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी । स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन् । तिनै विद्यार्थी हुन् । हाम्रो त कहिँ पनि छैन । के भएको यो ? अहिले पनि गाउँको देश हो यो । गाउँका स्कुलहरुमा, यो सदरमुकाममा बनाएर केही हुँदैन । गाउँकै स्कुलमै कमिटी बनाउनुस् । स्कुलको युनियन जित्नुस् । सम्पूर्ण देशभरिका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस् ।’

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए । उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?