शंकर पोखरेलले भने, स्टामिना राम्रो भएको खेलाडी छान्न नसके लगानीको अर्थ छैन

-कपिल अधिकारी

बुटबल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धि हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए । फुटबल खेलाडी छनोट गर्दा स्टामिना राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कला भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धि नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे ।

खेलाडी उत्पादन गर्ने स्पष्ट योजना बनाएर अघि बढ्न सुझाव दिँदै मुख्यमन्त्री पोखरेलले स्थानीय, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले विगतमा संस्थाभित्रकै विवाद, अपारदर्शिता, अनियमितता जस्ता कारणले नेपालको फुटबल क्षेत्र नाजुक बनेको बताए । प्रदेश  नम्बर ५ मा प्रदेशस्तरीय टेक्निकल सेन्टरका लागि जग्गा उपलब्ध गराइदिन शेर्पाले मुख्यमन्त्रीसँग माग समेत गरे ।   अन्तरक्रियामा एन्फाका उपाध्यक्ष कृष्ण थापा, पंकजविक्रम नेम्बाङ, प्रवक्ता किरण राई लगायतले बोल्दै राजनीतिज्ञहरुले खेलकुदलाई राम्रोसँग नबुझ्दा समग्र खेलकुद क्षेत्र पछाडि परेको बताए । प्रदेश ५ बाट अन्य प्रदेश र संघीय सरकारले सिक्नुपर्ने धारणा  राखे । कार्यशालामा प्रदेश ५,६र ७ का जिल्ला फुटबल संघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

एन्फाको यही साउन ३० गते हुन लागेको विशेष साधारणसभालाई लक्षित गरी सातै प्रदेशलाई समेटेर कार्यशाला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?