नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक विभिन्न ८ वटा निर्णय गर्दै सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनावी घोषणापत्र पारितगर्नेसहित विभिन्न ८ वटा निर्णय गरेको हो। बैठकले चुनाव गठबन्धनको व्यवहारका कारण चुनाव हुनेमा आशंका गरिएको छ ।
बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाए । बैठकले चुनाव सार्ने षड्यन्त्रको कडा प्रतिवाद गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।
‘वैशाख ३० गतेको चुनाव सार्ने जुनखालको षड्यन्त्र भइराखेको छ । त्यसको हामी कडा प्रतिवाद र विरोध गर्छौँ’, गुरुङले भने, ‘कुनै हालतमा चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौँ ।’
उनले पार्टीपंक्तिलाई चुनावको तयारीमा लाग्न निर्देशन दिने निर्णय भएको पनि बताए ।
बैठकले चुनावी घोषणापत्र पारित गरेको पनि उनले जानकारी दिए । घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोलाई बैठकले पारित गरेको उनको भनाइ छ । ‘पार्टीले स्थानीय तह निर्वाचनको क्रममा घोषणापत्र मस्यौदा तयारी समिति जुन बनाएको थियो । सो समितिले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ र वैशाखद ३० गतेको चुनावलाई केन्द्रीय कमिटीले तयार गरेको घोषणापत्र आज तयार भएको छ’, बैठकपछि गुरुङले भने ।
घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको तयारी छ।
बैठकले १२ वटा विभाग थप गरेको छ। बैठकले हाल कायम रहेको विभागमा १२ विभाग थप गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।
यस्तै सल्लाहकार परिषद्को आकार पनि बढाउने निर्णय गरेको छ । हाल कायम रहेको १७३ सदस्यीय सल्लाहकार परिषद्मा १०५ जना थपेर २७८ जना बनाइएको गुरुङले जानकारी दिए । सल्लाहकार परिषद्को सिफारिसलाई बैठकले अनुमोदन गरेको हो।
यस्तै सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया