अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउनै कठिन

लोकपथ
91
Shares

अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट को–को उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमतिकाे विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्वीप गर्ने योजनमा रहे पनि भागबण्डामै अल्झिदा चुनावी माहोल समेत बन्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाइ भइरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाँडै टुंग्याउने प्रयास भैरहेको उनको भनाइ छ ।

‘विभिन्न चरणमा छलफल भइरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘सम्भवतः आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

कहाँ अड्कियो हलो ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शीतगंगा नगरपालिकामा सोहीअनुसारको हैसियत माओवादी केन्द्रले दाबी गरिरहेको छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीको दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेको नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा नेतृत्व मागिरहेको छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेको एकीकृत समाजवादीले कम्तीमा एक पालिका छोड्नै नसकिने जनाएको छ ।

गत निर्वाचनमा भूमिकास्थानमा राम्रो मत पाएको र कार्यपालिकामा बहुमत भएको राष्ट्रिय जनमोर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दाबी गरेको छ । जनमोर्चाले भूमिकास्थानको नेतृत्वसहित पाँच वडा दाबी गरेको छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमोर्चाको दाबी छ ।

एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट रोक्ने मनसाय बोकेको माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खोजेका कारण गठबन्धननै संकटमा परेको ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?