निर्वाचन आयोगले समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

लोकपथ
42
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यामहरुका निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोली (वैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन् ।

यसअघि निर्वाचन आयोगले प्रदेशस्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ ।

साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेले बताए ।

उनले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईन बोर्ड, लेटर प्याड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै जिल्ला मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्नुपर्ने साईन बोर्ड, लेटरप्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ । स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । जवाफ आउनेक्रम जारी छ । आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरुपमा जानकारी दिन गत वैशाख १ गतेदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई–बुलेटिन प्रकाशन गरिरहेको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध छ । स्थानीय तह निर्वाचनमा खटिन मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि २०७८ १२ ३० गते निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा तथा वैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनवढीमा सम्पन्न भएको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्तिपत्र दिइएको छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा आयोग र सञ्चार जगतबीचको सहकाइ र समन्वय अभिवृद्धि गर्दै स्वच्छ, पारदर्शी र विश्वसनीय तुल्याउन तथा विश्वसनीय कायम गर्न निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले वैशाख ३ गते मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, लुम्बिनी प्रदेशको बुटवल र सुदूरपश्चिम प्रदेशको धनगढीमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, अन्य आयुक्तहरु तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवं प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो । यसैबीच, आयोगले राष्ट्रिय समाचार माध्यमका निर्वाचनसम्बन्धि विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि २०७९ वैशाख ६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।’

आयोगले स्थानीय तह निर्वाचनको लागि आजको मितिसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको पनि जनाएको छ । १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?