बिराटनगर । डा.गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहीबारका लागि आह्वान गरेको देशब्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रम असफल हुने देखिएको छ । निजी मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य संस्था बन्दको विपक्षमा उभिने भएपछि आन्दोलन असफल हुने संकेत देखिएको हो ।
एशोसिएसनले बुधबार प्रेस विज्ञप्ती जारी गरेर स्वास्थ्य संस्था बन्दको प्रतिकारमा उत्रने चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी विज्ञप्तीमा स्वास्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ । समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक बिधि विपरीत ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ । सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ । बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बिभिन्न बाहनामा बारम्बार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने विज्ञप्तीमा उल्लेख छ । ३ वर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागु गर्न खोज्नु ब्यवहारिक तथा न्याय संगत नहुँने एशोसिएसनको ठहर छ ।
चिकित्सा शिक्षा बिधेयकको विषयमा विज्ञहरु र सरोकारवालाहरुको राय लिई सार्वभौम संसदमानै छलफल गरी लोकतान्त्रिक बिधि र प्रकृयाबाट टुंग्याउँनुनै अहिलेको समस्या समाधानको उत्तम विकल्प रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चिकित्सक संघ जस्तो जिम्मेवार निकायले मध्यस्थताको भूमिका निर्वाह गर्नुको साटो स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा बन्द आह्वान गर्नु गलत भएको एशोसिएसनको निष्कर्ष छ । चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेपछि एशोसिएसन त्यसको बिपक्षमा उत्रिएको हो ।
अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका छन् । डा.केसीको पक्षमा भईरहेको आन्दोलन जस्तै उनको विपक्षमा पनि माहोल तातिदै गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया