आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

लोकपथ
126
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।

हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ ।

पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

अब, दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ । खेलअघि टिम पुणे पुग्नुपर्ने थियो । तर, टिम हाल होटलमै रहेको छ ।

कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ ।

अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो ।

प्रतियोगिताअन्तर्गत आज(सोमबार) एक खेल हुँदै छ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता किङ्स राइडर भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?