किन रोजाइमा परे उप्रेती ?

काठमाडौँ — भारतका लागि राजदूत सिफारिस भएका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती नेपालकै पहिलो सरकारी कम्प्युटर अपरेटरमात्र होइनन्, भारतीय थिंक ट्यांकसँग निकट रहेर काम गरेका व्यक्तिसमेत हुन् । तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा उनले दिने स्पिचको कार्यक्रम संयोजनसमेत गरेका थिए । उनी भारतीय पक्षका केही थिंक ट्यांकले रुचाएका व्यक्ति हुन् ।

भारतीय जनता पार्टी (बीजेपी) का नेता राम माधव संलग्न इन्डिया फाउन्डेसनसँग निकट रहेर काम गरेको नीति अनुसन्धान परिषद्ले मुखर्जीको नेपाल भ्रमणको ‘पब्लिक स्पिच’ मा सहकार्य गरेको थियो । उप्रेतीले त्यति बेला मुखर्जीसामु दिएको भाषणको अझै आलोचनात्मक चर्चा हुने गरेको छ ।

उनले विभिन्न मुलुकमा निर्वाचन सफलताका लागि प्राविधिक सहयोग गर्दै आएका थिए । उनी सुरुमा राष्ट्रिय कम्प्युटर केन्द्र हुँदै निर्वाचन आयोगमा प्राविधिक सहयोगका लागि गएका थिए । पछि त्यही नै उनको कार्यथलो बन्यो । त्यहीँ आयुक्त बने । कार्यकाल सकिएपछि पनि उनी पुन: आयुक्त बने । यो विवाद अदालतसम्मै पुग्यो । अदालतले बाटो फुकाइदिएपछि उनी प्रमुख निर्वाचन आयुक्तसम्म बने । पर्वतका उप्रेतीले सरकारी क्षेत्रमा कम्प्युटर अपरेटरका लागि प्रोत्साहन गरेका थिए । उनी निर्वाचन आयुक्त हुनुअघि नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) मा पनि आबद्ध रहे । निर्वाचनमा प्राविधिक सहयोगका लागि विज्ञका रूपमा भुटान, अफगानिस्तानमा समेत काम गरे । सरकारी ‘प्रोफाइल’ मा उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेको उल्लेख छ । कान्तिपुरमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?