काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन् ।
आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामूहिकरुपमा छलफल गरेका थिए । छलफलपछि नेताहरु सिंहदरबारबाट सँगसँगै बाहिरिएका थिए ।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।
गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा(एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया