चितुवाको छाला र खप्परसहित चारजना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चिमं गेष्ट हाउसबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चांगुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउँकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?