पशु व्यापारमा आकर्षण बढ्दो

लोकपथ
84
Shares

काठमाडौं । एक दिनको कमाइले हप्तादिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ । बाँकेको जानकी गाउँपालिका–३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् ।

अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहिनेतका साथ काम गर्नुपर्ने र भनेको जस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरुको आकर्षण बढ्दै गएको हो । पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेसामा लागेको स्थानीयहरुको भनाइ छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्छन् ।

बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेको बताउनुहुन्छ, पशु व्यापारी जमीर खाँ । उनले छिमेकी गाउँ र जिल्लाका मानिसहरुले गाउँबाट भैँसी, राँगा किन्ने र पशु हाट बजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको बताए । करिव २५ वर्षदेखि यो पेशा गर्दै आएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरुले काम पाएको पनि बताए ।

त्यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अलीले पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताए । उनले पशु हाट बजारबाट स्थानीयहरु सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको बताए ।

स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थाल्नुभएको लगभग २० वर्ष भयो । उनले लकडाउनमा केही कम भएपनि अहिले भने पशु बजारमा किनबेच हुने संख्या बढीरहेको बताए । उनले हरेक हप्तामा १० हजारसम्म नाफा भइरहेको बताए ।

स्थानीयहरुले पशु हाट बजारलाई अम्दानीको स्रोतको माध्याम बनाएका छन् । तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?