जीविकोपार्जनका लागि आयस्रोतको माध्यम बन्दै आरन व्यवसाय

मुगु । मुगुका दलित लुहारहरूको जीविकोपार्जनका लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ । देशभर आरन पेसा लोप भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो ।

उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।

आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूको गुनासो छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चामल पाइने गरेको आरन व्यवसायी बताउँछन् । आफूसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यही पेसाको भरमा जीविका चलाउनुपरेको उनीहरू बताउँछन् ।

यस्तै स्थानीय सरकार बनेपछि दु:ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दु:ख लागेको उनीहरू भनाइ छ । साथै बजारीकरणको औजारले गर्दा पुर्ख्यौली पेसा हराउँदै जाने हो कि भन्ने उनीहरूको आशंका समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?