नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए।
“संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे । महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए ।
देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी)बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै कांग्रेसले बाचा गरेका विषय पूरा गर्ने बताए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया