संघीय सरकारको आठ महिनाको खर्च छ खर्ब ७५ अर्ब

लोकपथ
77
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा संघीय सरकारले छ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकलाई उद्धृत गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८–०७९ को फागुन मसान्तसम्ममा संघीय सरकारको कुल छ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खर्चतर्फ पाँच खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने पुँजीगत खर्चतर्फको रकम ७७ अर्ब १५ करोड रुपैयाँ मात्र रहेको छ । यसबाहेक वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रकम भने ५९ अर्ब ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व छ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत परिचालन भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमध्ये कर राजस्वतर्फ छ खर्ब २७ अर्ब ९० करोड र गैरकर राजस्वतर्फ ५६ अर्ब ८० करोड परिचालन भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी बिलमार्फत ३५ अर्ब र विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड परिचालन गरी ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा भने तीन खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो नगद मौज्दातमा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब अर्ब १८ करोड रहेको थियो, राष्ट्र बैंकले भनेको छ ।

यसैगरी चालू आवको पछिल्लो आठ महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ७७ अर्ब ९९ करोड छ र प्रदेश सरकारहरूले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३१ अर्ब २४ करोड रहेको राष्ट्र बैंकको भनाई छ । यस अवधिमा प्रदेश सरकारहरूको खर्च ६३ अर्ब ७९ करोड रुपैयाँ रहेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा खुद वैदेशिक सम्पत्ति भने दुई खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९ दशमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ६८ अर्ब अर्थात् पाँच दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा १४ दशमलव चार प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १० दशमलव पाँच प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ फागुन मसान्तमा सञ्चित मुद्रा शून्य दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी चालू आवको पछिल्लो आठ महिनामा विस्तृत मुद्राप्रदाय तीन दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १२ दशमलव सात प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?