अर्जुन दास बीभत्स हत्या प्रकरण : ४ जना पक्राउ, यस्तो छ घटनाको प्रकृति

लोकपथ
1.4k
Shares

काठमाडौं । कैलालीका अर्जुन दासको बीभत्स हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली जानकी ९ का सुमित साउद, बमे भन्ने बम बहादुर बोहोरा, रोनी परियार भन्ने दिलिप दास र मनोज भण्डारी रहेका छन् ।

गत पुस ९ गते कैलाली, जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक जंगलमा सोही स्थानमा बस्ने मनोज दासलाई मोवाइल चोरीको आरोपमा कुटपिट गरेका थिए । लागुऔषधको समेत प्रयोग गरेका उनीहरूले दासलाई घाइते बनाइ साजको बोटमा बाँधी घाँटी छिनाली बीभत्स हत्या गरेका थिए ।

दासको हत्यामा संलग्नहरू रूपन्देही, सिदार्थ नपा वडा नं. ०१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरि कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता रहेको र थप अनुसन्धानको लागि जिल्ला अदालत कैलाली लगिएको महाशाखाले जनाएको छ ।

यस्तो छ घटनाको प्रकृति

घटना हुनभन्दा ३ दिन पहिले कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।

सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं. रू. २५ हजारबराबरको लागुऔषध (Nitravet-10) चोरी गरी जंगलमा लुकाएको ।

अर्जुन दासले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोबाइल कमल साउदलाई फिर्ता दिएको ।

कमल साउदको मोबाइल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक, करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको ।

मिति २०७८।०९।०२ गते बेलुका अं. १८ः०० बजे मृतक अर्जुन दास र निजका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।

सबैजनाले लागुऔषधको सेवन गरेपछि कमल साउदको चोरी भएको मोबाइल र सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधी राखेको ।

मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४–५ घण्टा राखेपश्चात् सबै जनाको मार्ने योजनाअनुसार सुशील मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको ।

राति २३ः०० बजे मनोज भण्डारीलगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली बीभत्स हत्या गरी टाउको २ फिट टाढा राखी सबै जनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमा नै बसेको ।

मिति २०७८।०९।०३ गते बिहान ०५ः०० बजे मनोज भण्डारी, बादल विक, दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्लीतर्फ लागेको र कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर वतन नखुलेको सुशील मयालको साथी कैलालीमै लुकी बसेको ।

सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रूपन्देही, सिदार्थ न।पा।वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६ः१५ बजे पक्राउ गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?