नेताजीको नमस्कार !

लोकपथ
119
Shares

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए। मेयर साहबाट बिहान–बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए। त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो।

मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो। सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित्यो। हालसम्मको कार्यकालमा जनताको सम्पर्कमा आकल–झुक्कल मात्रै आउने र आफ्ना कार्यकर्ता वा चिनजानबाहेकका व्यक्तिहरूको फोनसमेत उठाउन नरुचाउने मेयर साह यसपालिको स्थानीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने दाउमा छन्। ‘जनतासँग बिग्रेको सम्बन्धलाई उनी निर्वाचन नजिकिँदै जाँदा सुधार गर्न खोजिरहेका छन्। त्यसैले अलि बढी नमस्कार गर्न थालेका छन्,’ स्थानीय विजय साहले भने, ‘अब नेताजीहरूले बढी नै हालखबर सोध्नेछन्। चुनावसम्म मात्रै हो, यस्तो नमस्कारहरू।’

निर्वाचनको समय नजिकिएसँगै जनप्रतिनिधि र उम्मेदवार बन्न आकांक्षी नेताहरूको जनस्तरमा दौडधुप निकै बढेको छ। गाउँका सडकहरूमा झण्डावाला गाडीहरू धुलो उडाउँदै घुम्न थालेका छन् भने उम्मेदवारहरू बाजागाजासहित जनताको घरदैलोमा पुग्न थालेका छन्।

‘यति बेला हो जनतालाई नमस्कार गर्ने अनि झुटो वाचा गर्ने,’ महोत्तरीका कुमाइ ठाकुर भन्छन्, ‘अहिले त नेताहरूले जे भन्यो त्यहीं वाचा गर्छन्। तर, यिनीहरूको विश्वास गर्न गाह्रो छ।’
नयाँ उम्मेदवार बनेकाहरूलाई जनतामाझ गएर आफ्नो कुरा राख्न सजिलो भए पनि जनप्रतिनिधिको भूमिकामा रहेका नेताहरूलाई जनता समक्ष जान कठिनाइ छ। आफ्नो कार्यकालमा जनताको भावनाविपरीत काम गरेका र फेरि चुनाव लड्ने मनसाय बनाइरहेका नेताहरूको कामलाई सर्वसाधारणले बढी नै समीक्षा गर्न थालेका छन्। आउँदो निर्वाचनमा अन्य पेसामा सफलता पाएका वर्चस्वशाली व्यक्तिहरूले पनि स्थानीय तहको प्रमुख, उपप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन्। राजनीतिक दलमा आबद्ध नभएकोले आफू बढी इमान्दार र विकासप्रति जिम्मेवार हुने उनीहरूको तर्क छ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?