तत्कालीन नेकपामा मेरो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भयो : प्रचण्ड

लोकपथ
299
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताए ।

अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि बताए । उनले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताए ।

अध्यक्ष दाहालले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।

अध्यक्ष दाहालले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन । त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह । माले कालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुवीकृत नहुने भनेर गरियो । त्यो पनि अरुले गरेका भएन, तपाईँहरुलाई प्रचण्डले के–के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो । त्यो एकताबाट कम्युनिष्टहरुलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रस्तावमा काम अघि बढेको थियो । त्यो कतिबेला दुर्घटनामा पर्‍यो भने जतिबेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाती, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रिय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्याधिक ठूलो संख्या ८/१० जना छोडेर अबको नेता अध्यक्ष प्रचण्ड हो, भन्ने ठाउँमा पुग्यो त्यसपछि षड्यन्त्र सुरु भयो । भयानक षड्यन्त्र सुरु भयो । आजकाल तपाईँहरुले सुन्नुभएको होला, एमालेका केही नेताहरु भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि । उनीहरु नै भन्छन् हामीले भन्नुपर्दैन । हामीले एकता गर्दा ६०–४० भनियो । यदि माओवादी नफुटेको भए त्यो हुँदैन थियो । हामी ६० हुन्थ्यौँ, एमाले ४० हुन्थ्यो, माओवादी ६० भएको भए पार्टी फुट्दैन थियो । हामी साच्चै समाजवादतिर त्यो पार्टीलाई लिएर जान्थ्यौँ । त्यसैले एमालेका सबै खराब छन् भन्ने पनि सोच्नु हुँदैन । एमालेभित्र हामीले ३ वर्ष बसेर हेरेका छौँ नि । त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी इमान्दार नै कम्युनिष्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने छन् । तर लिडरसिप भनेको चाबीजस्तो हो । नेतृत्वले यति धेरै भ्रम दिएर राखेको छ कि तिनीहरुलाई बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई । एमालेभित्रका कम्युनिष्टहरु प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य छन् । हामीले तिनलाई मुक्त गर्नुछ । तिनलाई मुक्त गरेर तिनको पनि नेतृत्व हामीले गर्नुछ । त्यसैले ठूलो सोचाइ राखेर क्रान्ति गर्नुपर्छ ।’

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए । उनले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावदीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएर अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘देशभर अब माओवादी ध्रुवीकरणलाई हामी सबैले सहयोग गर्नुपर्छ र प्रतिक्रियावादीहरुले देश भित्रका र देश बाहिरका सबैले माओवादीलाई क्षत विक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने जो षड्यन्त्र भएको छ, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ । राष्ट्रको निम्ति र आम जनता र समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको संघीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षताजस्ता कुराहरु माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरु कुनै पार्टी र विचारबाट यो भएको होइन । माओवादी कमजोर हुनेबित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गत सालदेखि नै हाल्यौँ । अझै पनि त्यो खतरा टरेको छैन । अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई, मूल्य, मान्यताहरुलाई प्रहार गर्ने, क्षत, विक्षत पार्ने षड्यन्त्र रोकिएको छैन । प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावदीलाई घेरा हालेर सखाप पार्ने नै छ । हाम्रो रणनीति माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने नै छ । अब एकपटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको हाम्रो यात्रालाई माओवादीहरुकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदै छ ।’

अध्यक्ष दाहालले सबै माओवादीहरु एकतावद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?