आज विक्रम संवत् २०७९ सालको पहिलो दिन हो ।
वसन्त ऋतुले वातावरण मगमगाइरहेका बेला नेपालीहरुको तनमनमा नयाँपनको आभास दिलाउँदै नयाँ वर्ष सुरु भएको छ ।
प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा सालको आरम्भलाई नयाँ वर्ष भनिन्छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । विक्रम संवत् पात्रो अनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदाका तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।
नेपालमा मल्लकालदेखि मौलिक संवत्का रुपमा यो संवत् चलेको हो । विक्रम संवत् मान्ने स्थानहरुमा वैशाख १ गते र इस्वी संवत् मान्ने स्थानहरुमा जनवरी १ तारीखमा नयाँ वर्ष मनाइन्छ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । विक्रम संवत् १३५ देखि शक संवत्, संवत् ६३३ देखि मानदेव संवत्, विक्रम संवत् ९३६ देखि नेपाल संवत् चलेको हो । यी संवत्मध्ये अहिले मानदेव संवत्को चलन भने हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवत्को प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु भनाइ छ ।
मानवजातीले आफूले प्रकृतिमा देख्ने घटनाक्रम तथा परिवर्तन अनि व्यवहार र गतिविधिको लेखाजोखा र व्यवस्थापन गर्न समयको गणना गर्न थाले । त्यसका लागि निश्चित समय तोकेर परापूर्वकालदेखि नै काल निर्धारण गर्न थालियो । पछि गणितीय र ज्योतिषीय ज्ञान विस्तार भएसंगै समयलाई दिन र रातमा मात्रै सिमित नराखेर बार, तीथि, महिना र वर्षजस्ता अवधिमा वर्गिकरण गरियो । संवत् जुनसुकै भएपनि पूर्वीय ज्योतिषी परम्परा अनुसरण गर्ने अधिकांश पञ्चाङ्गमा वैशाख १ मा नयाँ वर्ष आरम्भ हुन्छ ।
त्यसैअनुसार वैशाख १ गते संवत् २०७९ को नयाँ वर्ष मनाईँदैछ । साधारणतया चैत्र शुक्लप्रतिपदा भएको तथा मेष राशिमा सूर्य प्रवेश गरेको दिन अर्थात वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने व्यवस्था रहेको छ ।
नयाँ वर्ष सुरु भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीले शुभकामना आदानप्रदान गरी आपसी सद्भाव साटासाट गर्ने, साथीभाइ इष्टमित्र भेटघाट तथा घुमघाम गर्ने, मठ मन्दिर गइ पूजाआजा गर्ने, र मिठामिठा परिकार खाएर हर्षोल्लासका साथ विशेष रुपमा मनाइने गरिन्छ ।
आजको दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरु आयोजन गर्ने गरिन्छ । आजको दिन पर्यटकीय स्थानहरुमा विशेष चहलपहल हुने गर्दछ ।
साथै विगतका नराम्रा पक्षहरुलाई सच्याएर नयाँ जोस जाँगर र उमंगका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनि कामना समेत गर्ने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं संकल्प गर्ने परम्परा समेत रहेको छ । विशेष धेरैले आजको दिन नयाँ कामको थालनी पनि गर्ने गरिन्छ ।
काठमाडौंको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिककाको सीमामा पर्ने बाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । साथै आजको दिन काठमाडौंस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा गएर स्नान गरेमा कुष्ठरोग एवं शारिरीक अशक्तता हटी पुन: शारिरीक तन्दुरुस्तता प्राप्त हुने विश्वास छ ।
यस्तै आजको दिन धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचिन फूलबारीमा वैशाख १ गते मात्रै फूल्ने फूल देख्न पाइन्छ । फूलबारी भित्र रहेको राजा सहलेसको र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष उक्त फूल हेर्न दर्शनार्थीहरुको ठूलो संख्यामा भिड लाग्ने गर्दछ ।
तराइका पासवान जातिको इष्टदेव मानिने सहलेसको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगव्याधि नलाग्ने जनविश्वास छ । हरेक वर्षको वैशाख १ गते मात्रै पूजा हुने सहलेस फूलबारीमा भब्य मेला समेत लाग्ने गर्दछ । सो रुखको फूलबारीको मध्य भागमा रहेको राजा सहलेसको गहबर(मन्दिर) सँगै टासिएको यो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेको छ भन्ने कुरा खोजको विषय बनेको छ । माला आकारको सेतो फूलको थुँगाजस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय बनेको छ । सहलेस गाथामा उल्लेख गरिएअनुसार तेह्रौँ शताब्दीका लोकनायक सहलेस र विराट राजाकी छोरी मालिनीबीच गहिरो प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सहलेसको प्रतिक्षा गर्दै मालिनी मालाको रुपमा हरेक वर्षको वैशाख १ गते मात्रै फुल्ने गरेको सहलेस गहवरका पूजारी हरीसिंहदेव दनुवार बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया