काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यतिबेला देशको माहोल तातेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मेयर, उपमेयर तथा पालिका अध्यक्ष र उपाध्यक्ष र वडाध्यक्षहरुको समेत नाम सिफारिस भइरहेको छ । सो क्रममा कतिपय अवस्थामा नाम सिफारिस अन्याय भएको भन्दै पार्टी परित्याग गर्नेहरुको गुनासो बाहिर आउन थालेको छ ।
सो क्रममा झापाको मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवारको सिफारिसमा नपरेपछि एमाले जिल्ल कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले आफूले लामो समय पार्टीमा रहेर दुःख गरे पनि कुनै मूल्यांकन नभएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलन गर्दै आफ्ना सहकर्मीहरुले आफूमाथि पटक–पटक अन्याय गरेको बताउँदै स्वतन्त्र जीवन जिउन लागेको भन्दै रुँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा भकानिँदै उनले भनेका छन्, ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेँ, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेँ, तर पार्टीका केही नेताले मेरो अवमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेँ । मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैँ निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
नेता घिमिरेले कसैलाई पटक–पटक जिम्मेवारी दिइएको त कसैलाई अवसरबाट वञ्चित गरिएको उनको आरोप रहेको छ । ‘कसैलाई थपीथपी जिम्मेवारी दिने र कसैलाई अवसरबाट वञ्चित गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’ उनले भनेका छन् ।
पत्रकार सम्मेलनमा पटक पटक भावुक हुँदै उनले आफूले खसालेको आँसुले आफूमाथि अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । ‘मेरो आँसु मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै–रुँदै बाहिरिने अवस्था सिर्जना गरे’, उनले भने ।
झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । गठबन्धनमा आबद्ध अन्य दलहरु निर्वाचनको छलफलमा जुट्दै गर्दा एमाले भने उम्मेदवार सिफारिसमा थालेको छ । उम्मेदवार बन्नका लागि योग्य उम्मेदवारहरुलाई बनाउने भन्ने एमालेमा नै विवाद भएको भन्दै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया