काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले मलाई गम्भीर बनाएको छ । यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसँग वार्ता गरी माग सम्वोधन गर्दै उनको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु ।
मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको थियो । डा. केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने मेरो दृढ निश्कर्ष छ ।
शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ । डा। केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जीएको छ । अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया