जवरजस्ती करणी मुद्दामा संलग्न सिंह युएईमा पक्राउ

काठमाडौं । जवरजस्ती करणी मुद्दामा फरार सिन्धुली मनिठाकुर गाँउपालिका वडा नम्वर ४ का ३१ वर्षीय सिंहलाल थिड संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् । 

उनलाई इन्टरपोल प्रहरी युएईले पक्राउ गरेको हो । महोत्तरी वर्दीवास निवासी एक युवतीलाई जवरजस्ती करणी गरी फरार भएका थिडको पक्राउका लागि नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारि गरेको थियो । 

अभियुक्त थिडले गत वर्ष असोजमा विदेशबाट फर्केर आउदा उपहार स्वरुप सामान लिएर आएको छु भन्दै ती युवतीलाई वर्दिवासस्थित होटल विनायकमा बोलाई जवरजस्ती करणी गरी फरार भएका थिए । 

उपहार लिन बोलाइएकी युवतीलाई रातभर होटलको कोठामा बन्दी बनाई डर त्रास देखाइ जवरजस्ती करणी गरेको जानकारी प्रहरीले दिएको हो । 

उक्त घटनापछि फरार भएका थिड विरुद्ध पीडित युवतीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जवरजस्ती करणी सम्वन्धी मुद्दा दर्ता गराएकी थिइन । सोही मुद्दामा फरार थिड भागेर युएइ पुगेका थिए । 

उनको पक्राउका लागि प्रहरीले गत पुस २६ गते इन्टरपोल प्रहरी मार्फत रेड कर्नर नोटिस जारि गरेको थियो । उनलाई युएइबाट काठमाडौंमा ल्याइ आज अदालतमा पेश गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?