कोरोना महामारीमा नेपालको सक्रियता उदाहरणीय रहेको डब्ल्यूएचओ प्रमुख डा. टेडरोसको भनाइ 

लोकपथ
7
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोस एडनम गेब्रेससले भिडियोमार्फत सम्मेलनमा आफ्नो धारणा राख्दै उनले कोभिड १९ को महामारीका बेला नेपालको स्वास्थ्य क्षेत्रले देखाएको सक्रियता उदाहरणीय रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको औपचारिक उद्‌घाटनका क्रममा बाेल्दै उनले महामारी नियन्त्रणमा नेपालकाे सक्रियता उदाहरणीय रहेकाे बताएका हुन् । उनले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रलाई थप प्रभावकारी बनाउन सम्मेलन सहयोगी बनोस् भन्दै शुभकामनासमेत दिएका थिए ।

काठमाडौंमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आइतबार सुरु भएको सम्मेलनको उद्‌घाटन आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेका हुन्।

उक्त अवसरमा परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। सन्देशमा प्रधानमन्त्रीले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा क्रियाशील भएर लाग्न नेपाली स्वास्थ्य वैज्ञानिकसँग आग्रह समेत गरेका छन्।

उनले सरकारको गुणस्तरीय स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्ने र त्यसबाट प्राप्त तथ्यका आधारमा स्वास्थ्य नीति बनाउन अभिप्रेरित भएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यस विषयमा खेलेको भूमिका राम्रो रहेको सन्देशमा उल्लेख गरेका छन्।

साथै निरोगी नेपाल बनाउने अभियानमा रहेको र यसका लागि सबैले आधुनिक उपचार पद्धतिको विकास सँगसँगै आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्नुपर्ने हुन्छ यसलाई अझ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय ज्ञान सीपको समेत आवश्यकता हुने र त्यसका लागि परिषद्ले आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन्।

आइतबार सुरु भएको सम्मेलन भोलि सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?