काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारणसभा भोलीबाट काठमाडौंमा शुरु हुँदैछ । वार्षिक साधारणसभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुद्घाटन हुनेछ ।
वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले चैत्र २८ गते, सोमवार (११ अप्रिल, २०२२) विहान ११:३० बजे होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच गर्ने कार्यक्रम छ ।
साधारणसभाको समुद्घाटन समारोहमा माननीय सांसदहरु, माननीय मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थवीद, उद्यमी व्यवसायी लगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने छ ।
निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।
समुदघाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल गरिने छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।
विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य १७४८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया