काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे ।
नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे । सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरे ।
निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाई थियो ।
सभामुख सापकोटाले भने, ‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन । यो उन्नति र प्रगतिमा मात्रै जान्छ । त्यसकारण व्यवसायी, उद्यमीहरु, चेम्वर अफ कमर्शजस्ता संस्थाहरुलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नु पर्ला । हामी अभिभावकको जिम्मेवारीमा छौं भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाईमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने विस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ । देशभक्ति धेरै ठूलो कुरा हो । हामी जहाँ छौ, जुन जिम्मेवारीमा छौं । देशलाई केन्द्र राखेर सोच्यौ भने जसले जहाँ काम गरिराखेको छ, त्यहाँ इमान्दारितापूर्वक काम गर्ने हो भने देश छिट्टै समृद्ध हुन्छ । हामी सबैले देशलाई निष्ठापूर्वक केन्द्रमा राखेर काम गर्नेछौं । यसो गर्यौं भने हामीले सफलता प्राप्त गर्नेछौं ।’
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पारे । उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।
मुख्यसचिव बैरागीले भने, ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन । हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्छ ।’
मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया