ट्रक व्यवसायीले तोकिएको भाडादर पाएन

– वीरेन्द्र कर्णवीरगञ्ज, असोज २७ ।नेपाल सरकारले वीरगञ्ज–काठमाडौँ मार्गका लागि मालबाहक सवारी साधन ट्रकमा तोकेको भाडादरमा एकरुपता नहुँदा ट्रक व्यवसायी आर्थिक संकटमा पर्दै गएको गुनासो सुनिन थालेको छ ।तराई यातायात व्यवसायी संघ सिमराका अनुसार सरकारले वीरगञ्जदेखि काठमाडौँसम्मको १० टन सामान बोकेको मालबाहक ट्रकको भाडादर रु २३ हजार तोकेको भए पनि बिचौलियाका कारण ट्रक व्यवसायीले १९ हजार मात्र पाउने गरेका छन् ।तोकिएको भाडादर नपाउँदा व्यवसायीले प्रतिट्रिप चार हजारदेखि पाँच हजारसम्म घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन् । ट्रक व्यवसायी युवराज न्यौपानेले सरकारले अनुगमन नगरिदिँदा यहाँका उद्योगी व्यवसायीले तोकेको भाडादर पाउन नसकेका बताए ।व्यवसायीले एउटा ट्रक किन्दा करिब रु ६० लाख खर्चने र व्यवसायीले ५५ देखि ६० प्रतिशत ऋण लिएर ट्रक किन्ने गरेको भए पनि सरकारले तोकेको वास्तविक भाडादर पाउन नसक्दा ट्रक व्यवसायीले ऋणमा डुबेर घाटा सहिरहनु परेको संघका महासचिव शंकरकुमार विष्टको गुनासो छ ।मालबाहक ट्रकलाई वीरगञ्जदेखि काठमाडौँ र काठमाडौँदेखि वीरगञ्जसम्म आइपुग्दा एकपटकमा ३५ देखि ३६ हजार रुपैयाँसम्म खर्च हुने गरे पनि यहाँका उद्योगी व्यापारीले बिचौलियामार्फत सामान पठाउने गर्दा ट्रक किन्दा गरेको लगानीसमेत उठ्न सक्ने स्थिति नरहेको उनीहरु बताउँछन् ।दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको भाउ बढ्दै गएर व्यापारीले बढी मुनाफा लिने गर्छन् तर ट्रक व्यवसायी सरकारले तोकेको भाडादर भने दिन सकेका छैनन् । संघमा अहिले करिब चार हजार मालबाहक ट्रकको दर्ता रहेको छ ।सरकारको गलत नीतिका कारण भारतबाट आउने भारतीय नम्बर प्लेटका ट्रक भारतबाट सामान लिई सोझै नेपालका विभिन्न ठाउँमा पुग्ने गरेकाले यसबाट नेपाली ट्रक व्यवसायी आर्थिक मारमा परेका छन् । संघका सचिव जीवन श्रेष्ठले भारतीय मालबाहक ट्रकले क्षमताभन्दा बढी सामान बोक्दा प्रहरीले कारबाही नगर्ने तर नेपाली ट्रकले बढी सामान बोक्दा करबाही गर्ने गरेको जस्ता कारणले पनि यो व्यवसाय धरासायी हुँदै गएको बताए ।यस सम्बन्धमा मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीसँग जिज्ञासा राख्दा उनले क्षमताभन्दा बढी सामान बोकेर आएका मालबाहक ट्रकलाई जरिवाना गर्ने गरिएकाले राजश्व बढ्दै गएको तर्क गरे ।सरकारले १२ चक्का भएको मालबाहक ट्रकले २१ टन, १० चक्कालाई १७ टन, छ चक्कालाई १० टन, १४ चक्कालाई २५ टनसम्म सामान बोक्न पाउने नियम बनाए पनि भारतीय मालबाहक ट्रकले ४० टनसम्म सामान बोक्ने गरेका कारण सडकको अवस्था दिन प्रतिदिन जीर्ण हुँदै गएको व्यवसायीको गुनासो छ ।यस अतिरिक्त व्यवसायीले प्रहरीको निशानामा नेपाली ट्रक मात्र पर्ने गरेको र दुर्घटना हुँदा राजनीतिक दलको दबाब आउने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?