भरतपुरको मेयरमा कांग्रेसको दाबी रहन्छ, माओवादीले सहयोग गर्नुपर्छ : सभापति खनाल

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताएका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उनले यसपटक कांग्रेसलाई नेतृत्वपमा सहयोग गर्न आग्रह गरेका हुन् । सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गरे । स्थानीय निर्वाचनको विषयमा कुराकानी गर्दै उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए । उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताए ।

सभापति खनालले भने, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रीय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताए । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली कांग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गरे । उनले महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए । सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उनी चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गरे । सभापति खनालले अध्यक्ष दाहालले गत निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुने बताए । उनले नेकपा माओवादी केन्द्रलाई गत निर्वाचनमा कांग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट कांग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी रहेको भन्दै यसपटक कांग्रेसलाई सहयोग गरेर नेपाली कांग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्ने बताए ।

सभापति खनालले भने, ‘चितवनसँग र नेपाली कांग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली कांग्रेसमा आवद्ध छौँ । हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरको रुपमा माओवादी केन्द्रका आदरणीय पुष्पकमल दाहाल आउनुभएको छ । उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएको कारणले चितवनभित्र रहेका राजनीतिक पार्टीहरुका बीचमा उहाँ माआवादी केन्द्रको नेता भएपनि उहाँले नेपाली कांग्रेसलाई पनि बराबर माया ममता गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग गर्‍यौँ । २०७९ मा तपाईले सहयोग गर्नुहोस् । २०७४ मा सहयोग गरिसकेपछिको परिस्थिति नेपाली कांग्रेसका कार्यकर्ताहरुको बीचमा विशेष गरी माओवादी केन्द्रको फरक ढंगबाट कार्यकर्ताको बीचमा धमिलो मन भएको छ । धमिलो मनलाई संग्ल्याउनका निमित्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फराकिलो छाती गरेर, परिवारभन्दा बाहिर आएर संविधान र गठबन्धनको रक्षा गर्न फराकिलो छाती बनाएर यस पटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा काँग्रेसलाई सहयोग गरी अन्य पदमा आवश्यक तालमेल गरेर सामुहिक रुपमा निर्वाचनमा जाने वातावरण बनाउन आवश्यक छ ।’

सभापति खनालले नेपाली कांग्रेस चितवनले आफ्ना कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न र नेपाली कांग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताए । उनले नेपाली कांग्रेसको केन्द्रीय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताए । सभापति खनालले यस क्रममा चितवन नेपाली कांग्रेसका पदाधिकारीहरु पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरुलाई भेट्न काठमाडौं आएको बताए ।

सभापति खनालले भने, ‘नेपाली कांग्रेस चितवनले कार्यकर्ताहरुको भविष्यप्रति सुरक्षित गर्न र नेपाली कांग्रेसलाई जीवन्त दिनको लागि तथा नेपाली कांग्रेसको त्यहाँको संगठनलाई भोलिका दिनमा पनि जीवित राख्नको लागि नेपाली कांग्रेस चितवनले एउटा निर्णय गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था रह्यो । नेपाली कांग्रेसको केन्द्रीय समिति तहबाट हामीलाई जुन परिपत्र गरियो, स्थानीय तहमा आवश्यक्ता र औचित्यको आधारमा अन्य गठबन्धनका दलहरुसँग तालमेल गरेर निर्वाचनमा जाने भन्ने कुरासँग नेपाली कांग्रेसको केन्द्रीय समितिले परिपत्र गर्‍यो । त्यही परिपत्रलाई टेकेर नेपाली कांग्रेस चितवनले विविध क्षेत्रमा सर सल्लाह र राय लिएर गएको २० गते हामी एउटा निर्णयमा पुग्यौँ । हामी आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीचको तालमेललाई नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयअनुसार आत्मसाथ गर्दछौँ । तर चितवनको हकमा यस पटक अब हाम्रो पालो महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको उम्मेदवार कायम गर्दिनको लागि नेपाली कांग्रेसको केन्द्रिय समिति, आरणीय शेरबहादुर देउवा र पदाधिकारी र वरिष्ठ नेताहरुलाई हामीले त्यसमा विशेष आग्रह गर्ने गरी निर्णय लियौँ ।’

सभापति खनालले चितवन महानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको बताए । उनले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व कांग्रेसप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताए । सभापति खनालले नेपाली कांग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ सचेत रहन पनि चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?