सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन् । सो अवसरमा उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए ।
“कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने, “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ ।”
कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डानुसार लक्षित समुदायका नागरिकलाई पूर्णखोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताए । तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उनको भनाइ छ ।
नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिइन् ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो । चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्णखोप लगाइयो । यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो ।
वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया