विदुरमा गठबन्धनसँग जुध्न उम्मेदवार खोज्दै एमाले : यी हुन् मेयरका आकांक्षी

यतिबेला स्थानीय तह निर्वाचनले देशको माहोल थप गर्माएको छ । विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरु आ–आफ्नो पार्टी जिताउन लागेका छन् । यसअघिको निर्वाचनभन्दा यस पटकको निर्वाचन विभिन्न कारणले गर्दा थप रोचक र घोचक बन्ने देखिन्छ ।

केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसहितका दलहरू आगामी निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने भएका छन् ।

त्यससँगै देशभरको राजनीतिक माहोल थप रोचक भएको छ । केन्द्रमा गठबन्धन गरिरहेका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले देशभर तालमेल गरेर जाने निर्णय गरेसँगै प्रतिपक्षमा रहेको नेकपा एमाले थप दबाबमा परेको छ ।

हाल सरकारको नेतृत्व गरिरहे पनि संसदको दोस्रो दल हो नेपाली कांग्रेस । निर्वाचनमा कांग्रेसले अन्य दलहरूसँग गठबन्धन गरेर गएसँगै धेरै पालिकाहरूमा गठबन्धनका उम्मेदवारहरू विजयी हुने आकलनसहित नेकपा एमाले भने थप त्रसित बनेको छ ।

अन्य दलहरू मिलेर जाने भएसँगै नेकपा एमाले यतिबेला विभिन्न रणनीति लगाएर सकेसम्म गठबन्धन नहोस् भन्ने दाउमा छ । यता गठबन्धनका दलहरू आन्तरिक छलफलमा जुट्दै गर्दा एमाले भने पार्टी प्रवेशलाई प्राथमिकता दिँदै अन्य दलसँग तालमेलको लागि छलफलसहित चुनावी तयारीमा जुटिसकेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष स्वयम् पार्टी प्रवेश र चुनावी अभियानका लागि देशभर दौडिरहेका छन् । प्रत्येक भाषणमा गठबन्धनलाई गाली गरिरहेका भेटिन्छन् भने कतै आफूहरूले देशका धैरै ठाउँमा निर्वाचन जित्ने दाबीसहित कार्यकर्तालाई हौसला भने दिइरहेका हुन्छन् ।

सो क्रममा राजनीतिकरूपमा सधैँ चर्चा हुने काठमाडौंसँगै सीमाना जोडिएको जिल्ला नुवाकोटमा पनि स्थानीय निर्वाचनको चटारोले छपक्कै छोपेको छ । विभिन्न राजनीतिक दलहरू आ–आफ्नो तयारीलाई तीव्र बनाइरहेका छन् । २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा पनि केन्द्रको सर्कुलरअनुसार गठबन्धनमा आबद्ध दलहरूले तालमेल गरेर अघि बढ्न छलफल गरी तयारीलाई तीव्र बनाइरहेका छन् ।

यसअघिको निर्वाचनमा जिल्लाको दुवै नगरपालिकासहित ३ पालिकामा एमालेले जित हासिल गरेको छ । आगामी स्थानीय निर्वाचनमा गठबन्धन गरेर दुवै नगरपालिकासहित अन्य पालिकाहरूमा जित हासिल गर्ने दाउमा गठबन्धनमा आबद्ध दलहरू छन् भने चुनौतीको पहाडलाई फोरेर गठबन्धनलाई टक्कर दिने दाउमा रहेको छ नेकपा एमाले ।

अन्य दलबाट मेयरको आकांक्षीहरूको नाम बाहिर आइरहँदा एमालेबाट पनि मेयर तथा गाउँपालिका प्रमुखमा आकांक्षीहरूको नाम बाहिर आएको छ । पुरानो नगर भएको र राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पनि विदुरभित्रको आन्तरिक राजनीतिलाई जिल्लाभर महत्वका साथ हेरिन्छ ।

सो क्रममा आगामी स्थानीय तहको निर्वाचनमा विदुरबाट मेयरको आकांक्षीको रूपमा मुख्यगरी ६ जनाको नाम चर्चामा छ ।

हाल विदुर नगरपालिकामा एमालेबाट मेयरको आकांक्षीमा वर्तमान मेयर सञ्जु पण्डित, पूर्वमेयर ठाकुर गजुरेल, विदुर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठ र नेकपा एमाले जिल्ला कमिटी सदस्य बुद्धि प्रधान र नेकपा एमाले नगरसचिव अनुज कुमार श्रेष्ठ रहेका छन् ।

यस्तो छ आकांक्षीहरूको विगत

आसन्न स्थानीय निर्वाचनमा विदुर नगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा आएको नाम हो, वर्तमान मेयर सञ्जु पण्डित । २०७४ को निर्वाचनमा विदुरबाट मेयरमा निर्वाचित पण्डितको नाम आगामी निर्वाचनमा समेत आकांक्षीको रूपमा आएको छ ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका पण्डितलाई आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलगायत दलहरूले तालमेल गरेर अघि बढ्दा गठबन्धनसँग जुध्ने उम्मेदवारको रूपमा हेरिएको छ । तर २०७४ मा मेयरमा निर्वाचित भएसँगै विवाद र चर्चामा रहेका पण्डितलाई भन्दा अन्य उम्मेदवारलाई अघि सानुपर्ने आवाज पनि एमाले वृत्तमा उठेको छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने पण्डित जिल्लामा भने सांसद नारायणप्रसाद खतिवडानिकट मानिन्छन् ।

त्यसैगरी विदुरमा एमालेबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, ठाकुर गजुरेल । २०३८ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा आएका गजुरेलको नाम पनि मेयरको आकांक्षीको रूपमा चर्चामा छ । यसअघि २०४९ र २०५४ मा दुई पटक मेयर बनिसकेका गजुरेलले पनि चुनावलक्षित राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

नेपाली कांग्रेससहित अन्य ५ दलले गठबन्धन गर्ने भएसँगै गजुरेललाई विदुरबाट मेयरको आकांक्षीको बलियो दाबेदार मानिन्छ । केन्द्रीय नेताहरूसँग समेत राम्रो उठबस रहेका गजुरेललाई अघि सारेर जानुपर्ने चर्चा विदुरमा चल्न थालेको छ ।

त्यसैगरी आसन्न स्थानीय तहको निर्वाचनमा विदुरबाट मेयरमा शिवकुमार चित्रकारको नाम समेत चर्चामा छ । हाल विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष हुन् चित्रकार । २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनी २०५४ को स्थानीय निर्वाचनमा विदुर नगरपालिका बोर्ड सदस्य बनेका थिए । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै चित्रकारको नाम पनि मेयरको आकांक्षीको रूपमा अगाडि आएको छ ।

त्यसैगरी मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो बुद्धि प्रधान । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका प्रधान हाल नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् । दुई पटक नेकपा एमाले जिल्ला कमिटी सचिव भएर काम गरेका प्रधानको नाम पनि मेयरको आकांक्षीको रूपमा चर्चामा छ । पुराना राजनीतिज्ञ मानिने प्रधान निर्वाचनको मिति नजिकिएसँगै छलफल र भेटघाटमा व्यस्त रहेका छन् ।

त्यस्तै विदुरबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, अनुज कुमार श्रेष्ठ । उनी हाल नेकपा एमाले विदुर नगरपालिकाका नगर कमिटी सचिव हुन् । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका हुन् उनी । २०५३ सालमा पार्टीको भातृ संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका उनले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । श्रेष्ठ राजनीतिसँगसँगै सामाजिक काममा समेत सक्रिय छन् ।

त्यस्तै गणेश श्रेष्ठको नाम पनि मेयरको आकांक्षीको रुपमा चर्चामा छ । हाल नेकपा एमाले बागमती कमिटी सदस्य रहेका उनी युर्थफोर्स नुवाकोटको अध्यक्षसहित पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेका छन् ।

यसअघिको निर्वाचनमा करिब १ हजारभन्दा कम मतले मात्र एमालेका उम्मेदवार हालका मेयर सन्जु पण्डितले कांग्रेसका उम्मेदवार ध्रुब अधिकारीलाई पराजित गरेका हुन् । त्यसो हुँदा यस पटकको निर्वाचनमा अन्य दलहरू समेत मिलेको खण्डमा एमालेलाई थप गाह्रो पर्ने देखिन्छ । गठबन्धनले थप चुनौती थपिदिएपछि गठबन्धनसँग जुध्नका लागि बलियो उम्मेदवारको खोजीमा एमाले रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?