कांग्रेस : मधेश प्रदेशमा कोइराला समूहको बैठक, स्थानीय निर्वाचनबारे ठोस धारणा आउने अपेक्षा

लोकपथ
154
Shares

महोत्तरी । नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको छ । अहिले उक्त समूहको बैठक बर्दिबासस्थित गौतम होटलमा चलिरहेको छ ।

निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने सहभागी एक नेताले बताए ।

कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालका अनुसार बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा नै केन्द्रित हुनेछ ।

बैठकमा पूर्वमन्त्री रामसरोज यादव समेत सहभागी छन् । कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेको नेता विनोद खनालले जानकारी दिए ।

मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ ।

सिरहामा समानान्तर कमिटीबाट रामसुन्दर चौधरी सभापति छन् । कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्नु नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।

मधेश प्रदेशको यो बैठकले पनि आसन्न निर्वाचनमा कोइराला समूह कसरी परिचालन हुने भन्ने विषयमा छलफल अगाडि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?