काठमाडौं । गृह मन्त्रालयले लागुऔषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए । उनले लागू औषधका कारण विभिन्न अपराधिक घटनाहरु भईरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए । गृहसचिव पाण्डेले लागू औषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए । लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको बताए । उनले यसलाई नियन्त्रण गर्नका लागि सरकारले तीनै तहका सरकारी र गैर सरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने पनि बताए ।
गृह सचिव पाण्डेले भने, ‘अहिले पछिल्लो समय लागु औषधको पहुँच नरहेको ठाउँ नै रहेन । यसको सचेतना भएन । यो प्रयोग गर्दा भविष्यमा के हुन्छ ? भन्ने थाहा नै भएन । त्यसरी लागु औषधको व्यापारीहरुले त्यस्तालाई टार्गेट गरेर समाजलाई विक्षिप्त र ध्वस्त नै बनाउने अवस्था सिर्जना भयो । त्यसैले सरकारले चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था भयो । प्रयोग गर्नेको संख्या बढ्दै गयो । त्यसले अपराधीकरण वृद्धि भयो । अवैध कारोबारलाई प्रोत्सहन दियो । लागु औषध मार्फत अवैध कमाइ गर्नेहरु सक्रिय भए । युवा जनशक्तिको सिर्जनाशीलतालाई यसले ध्वस्त पारेको छ ।’
त्यस्तै गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको बताए । उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए । त्यस्तै नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागू औषधकै मुद्धामा रहेको बताए ।
उपसचिव उपाध्यायले भने, ‘हाम्रो पछिल्लो सर्वेक्षण २०७६ सालमा भएको थियो । जसमा नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषधका प्रयोगकर्ता रहेका छन् भन्ने देखाएको थियो । त्यसमा ८ हजार ३७१ जना महिला, झन्डै ६.७ प्रतिशत हुन जान्छ । प्रयोगकर्ताहरुको वार्षिक वृद्धिद्धर ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ । कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांक हेर्दा २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागु औषधकै मुद्दामा रहेका छन् । कुल अपराधमा यसको हिस्सा हेर्ने हो भने ९ प्रतिशत रहेको छ ।’
उपसचिव उपाध्यायले नेपालमा लागू औषध कारोबारमा २०७७÷०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरुमा ३ हजार १३ जनालाई मुद्धा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरु रहेको बताउनु भयो । सो अवसरमा लागु औषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको पनि जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया