काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताए ।
उनले भने– ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताए । उनले सरकार ढाल्न आफुहरुले कोसिस नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए ।
उनले भने– ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ भन्ने यो कुहि सकेको छ तर कुहिएको फल पनि कुहियो भन्नेबित्तिकै खत्रक्क झर्दैन । त्यो झर्नलाई मज्जाले कुहिसक्नु पर्छ । यो कुहिदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ । झर्ने समय हामीले पर्खिनुपर्छ । कसैले पनि मान्छे मर्नै लागेको, बाँच्दै, बाँच्दैन त्यो भनेपनि त्यसलाई प्वाक्क हिर्काएर त्यतिबेरै म¥यो भने त्यसलाई ज्यान मुद्दा उसैगरी लाग्छ । यो सरकार ढाल्न त हामी कोसिसै गर्दैनौँ । यो ढालेको बात पनि नलागोस् क्या । यो आफैँ झरोस् । कुहिएर फतक्क झरोस् । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया