काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
बुधबार संघले काठमाडौं पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए । उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए । महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरु बीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए ।
त्यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा नै विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए । उनले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, ‘हामीले राज्यलाई कर तिरेका छौँ, छात्रवृत्ति दिएका छौँ, त्यसरी राज्यलाई योगदान पुर्याएका छौँ । एपिलेशन पनि राम्रै दिइरहेका छौँ । एपिलेशन फी पनि तिरेका छौँ । त्यसकै कारणले युनिभर्सिटी चलेका पनि छन् । भनेपछि यो काम गर्नेहरुलाई छि छि दुरदुर गर्ने की, राज्यले गर्ने जिम्मेवारी दायित्व तिमीहरुले गर्यौ भनेर स्याब्बासी दिने ? र अझै बढी भारी बोक भन्ने ? हाम्रो कुरा यत्ति हो । भारी बोक्न चाहन्छौँ । हामीलाई भारी बोक्ने वातावरण बनाइदिनुहोस् । राम्रो शिक्षा, दिक्षा दिन प्रतिवद्ध बन्नुहोस् । तर त्यसको निम्ति वातावरण बनाउनु पर्छ । विदेशी शिक्षालाय नेपालमा आउँछ अनलिमिटेड सिट, हाम्रो २४ देखि ब्याचलर लेभलको ४० सिट । एउटै देशमा दुई किसिमको शिक्षा हुनु हुँदैन ।’
हिसानले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ आफ्नो आठौं महाविधेशन गर्न लागेको हो । महाधिवेशनमा विभिन्न शैक्षिक क्षेत्रमा गर्नसक्ने विकासका कामको बारेमा पनि गोष्ठी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया