संसद विघटनको अघिल्लो दिन राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

काठमाडौं, २७ असोज—राष्ट्रपति विद्यादेवी भण्डारीले एकै दिन ७ विधेयक प्रमाणीकरण गरेकी छन् ।भण्डारीले व्यवस्थापिका—संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका देहाय ७ विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४, राष्ट्रिय समावेशी आयोग विधेयक, २०७४, आदिवासी जनजाति आयोग विधेयक, २०७४, मधेशी आयोग विधेयक, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ रहेका छन् ।संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिबार समाप्त हुँदै छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ ।२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद् बनाइएको थियो । संसदको अन्तिम बैठक शुक्रबार बसेको छ भने भोलि बिदाई बैठक बस्नेछ ।सभामुख घर्तीले शुक्रबार अन्तिम बैठक भएको जनाउ कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा दलहरूलाई गराइसकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?