धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँचवटा स्थानीय तहमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।
नेपाल सरकारले देशभरि आगामी २५ गतेदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आजदेखि नै अभियानका रुपमा सुरु गरिएको हो ।
अभियानको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित पञ्चोदय माध्यामिक विद्यालयमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गरेर संयुक्तरुपमा समुद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री खड्काले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिरहेको बताए । उनले कोभिडविरुद्धको खोप शतप्रतिशत उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकार रहेको बताए ।
उनले टाइफाइडविरुद्धको अभियान सुरु गर्ने पनि सुदूरपश्चिम प्रदेश रहेको बताए । मन्त्री खड्काले अभियानलाई सफल बनाउन सबै बालबालिकाले खोप अभियानमा सहभागी हुन आग्रह गरे ।
‘कोही पनि नछुटून्, कोही पनि नदोहोरिऊन् भन्ने उद्देश्यसहित प्रदेश सरकारले यो अभियान सुरु गरेको छ’, उनले भने, ‘यो अभियानमा सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, आमासमूह, महिला स्वास्थ्यकर्मीलगायतको सहभागिता आवश्यक रहेको छ ।’
नगरप्रमुख वडको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख शुशिला मिश्र भट्ट, वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातली, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालसिंह धामी, धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख कृष्ण बोहरालगायतको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सुरु गरिएको हो । बाँकी आठ पालिकामा भने आगामी २५ गतेदेखि अभियान सुरु गरिनेछ ।
कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि नौ सय २४ खोपकेन्द्र र एक हजार नौ सय ३३ खोप सेसन स्थापना गरिएका छन् ।
कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार आठ सय २८ तथा विद्यालयबाहिर रहेका ४० हजार दुई सय २० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा आगामी वैशाख २ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने बताए । उनका अनुसार उपमहानगरपालिकामा ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
देशभर यो कार्यक्रम २५ गतेदेखि लागू हुने भए पनि धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाप्रमुख बोहराले बताए ।
उपमहानगरपालिकाभित्र एक सय ३२ खोप केन्द्र र एक सय ४१ खोप सेसन संख्या रहनेछन् । त्यस्तै, तीन सय ३० महिला स्वास्थ्य स्वयंसेविका र ८६ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ ।
यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताए ।
सरकारले टाइफाइडविरुद्धको खोपलाई नियमित खोपका रुपमा अघि बढाउन देशभरि नै पहिलो चरणमा अभियानका रुपमा अघि बढाउने तयारी गरेको थियो ।
‘विश्वभरि अहिले २५ प्रकारका खोपहरू नियमित रुपमा समावेश गरिएको छ’, उनले भने, नेपाल हालसम्म १२ प्रकारका खोपहरू मात्र नियमित रहेका छन् । अगामी साउनदेखि टाइफाइडविरुद्धको खोपलाई नियमित खोपमा राखि १३ प्रकारका खोप समावेश गरिनेछ ।
प्रतिएक लाख जनसंख्यामा एक सयभन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा वर्गीकरण गरिएको छ ।
‘यो अवस्थाको आधारमा नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर रहेको छ’, उनले भने, ‘नेपालमा विगत ५ वर्षको तथ्यांकअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुनेगरेको छ । विगत ३ वर्षको तथ्यांकअनुसार पानी र खानेकुराबाट हुने संक्रमाक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने बिरामीहरूमध्ये चौथो करण यही रोग रहेको छ ।’
उनका अनुसार नेपालमा हरेक वर्ष करिब दुई हजारदेखि दुई हजार पाँच सय टाइफाइड संक्रमित हुनेगरेको छ । यस आधारमा ११ हजार एक सय ५७ प्रतिलाख जना टाइफाइड संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया