कूटनीतिमा यसरी चुक्यो नेपाल

काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन छिमेकी भारतको राजकीय भ्रमण पूरा गरेर फर्केका छन् । उनको भारत भ्रमणलाई दक्षिण एसियासँग दक्षिण कोरियाको लगाव भन्ने कूटनीतिक अर्थ लगाइएको छ ।
कोरियन प्रायद्वीपको शान्ति र सहकार्यका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोन उनको सिंगापुर वार्तापछि भएको दक्षिणका राष्ट्रपतिको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । राष्ट्रपति मुन छिमेकमा आउँदा नेपाल भ्रमण पनि जुराउन सकिन्थ्यो तर त्यसतर्फ पहल नै भएन । सम्भवत: नेपाली कूटनीतिज्ञलाई उनी भारत आउँछन् भन्ने जानकारीसमेत ढिला मात्रै भयो ।

थोरै मात्रै प्रयास भएको भए दक्षिण कोरियाको राष्ट्रपति हुनुअघि नेपालको हिमाली क्षेत्र भ्रमण गरेका र भूकम्पपछि उद्धारमा सहयोगसमेत गरेका मुन नेपाल आउन सक्ने आकलन परराष्ट्र अधिकारीहरू नै गर्छन् । यस्तो विषयमा कूटनीति नजर नपरेको यो पहिलो पटक भने होइन । यसअघि पनि नेपालको परराष्ट्र मन्त्रालय यस्ता विषयमा चुक्दै आएको छ ।

पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले कोरियाका राष्ट्रपति पहिले पनि नेपाल भ्रमणमा आएको र नेपालप्रति विशेष लगावसमेत रहेकाले थोरै प्रयासमा पनि उनको भ्रमण हुन सक्ने बताउँछन् । ‘अहिले म त्यति धेरै सम्पर्कमा त छैन तर दूतावासले केही पहल गरेको भए भ्रमण हुन सक्ने थियो ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?