काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलवार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि छलफल गरेको थियो ।
छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सो आचारसंहिता आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए ।
बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरुले छलफलबिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रस्ट पारेसँगै दलहरु असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।
छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । आचारसंहिता अक्षरंश पालना गरिने उनले बताए ।
उनले भने– ‘आज राजनीतिक दलहरुको तर्फबाट निर्वाचन आयोगले जारी गरेको, निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा दलका अध्यक्ष वा प्रतिनिधि पदाधिकारीको तर्फबाट त्यो आचारसंहितामा प्रतिबद्धता जनाउनका लागि बोलाएको कार्यक्रम हो । त्यति प्रयोजनका लागि बोलाएको कार्यक्रम भएको हुनाले त्योभन्दा अन्य छलफल अन्य परामर्शहरु कुनै पनि भएको छैन । त्यसमा नेपाली कांग्रेसको तर्फबाट प्रतिबद्धता जनाएर म निर्वाचन आयोगसँग बिदा भएर हिँडेको । त्यहाँ केही राजनीतिक दलका साथीहरुले केही कुरा बुझ्न खोज्नुभयो । निर्वाचन आयोगका प्रमुखले, निर्वाचन आयोगका आयुक्तहरुले उहाँहरुले उठाउनुभएका कुरामा प्रस्ट पार्नुभयो । सबैको चित्त बुझ्यो । सबैको चित्त बुझेपछि सबैले क्रमशः हस्ताक्षर गर्दै हुनुहुन्छ । कुनै पनि समस्यारहित तरिकाले काम अगाडि बढेको छ । निर्वाचन आचारसंहिताप्रति नेपाली कांग्रेसको पूर्ण प्रतिबद्धता छ । हाम्रो पार्टीका विभिन्न निकायमार्फत त्यसलाई कार्यान्वयन गर्ने, लागू गर्ने कुरामा दलको जे भूमिका छ त्यो हामी अक्षरंश पालना गर्छौ ।’
नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न तयार रहेको बताए । पूर्णरुपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए । निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिताविपरीत दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले बताए । उनले दलहरुका बीचमा चुनावी गठबन्धन हुनु सिद्धान्तविपरीत र मतदाताको खरिदबिक्रीजस्तो भएको टिप्पणी पनि गरे ।
नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरुलाई हेपाहा प्रवृत्ति देखाएको बताए । आयोगले गर्ने छलफलहरुमा साना दलहरुलाई सहभागी नगराउने गरेको उनले बताए ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया