स्थानीय निर्वाचन : घोडाघोडीकाे प्रमुखमा दुई दर्जनभन्दा बढी आकांक्षी

धनगढी । कैलाली जिल्लाको मध्य भागमा छ घोडाघोडी नगरपालिका । पूर्वमा बर्दगोरिया र जोशीपुर गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका पर्दछ । यो नगरपालिका विश्वप्रसिद्ध घोडाघोडी सिमसार क्षेत्र (ताल)ले प्रख्यात रहेको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै कैलालीको घोडाघोडी नगरपालिकामा राजनीतिक दलहरूको चुनावी चहलपहल तीव्र बनेको छ ।

प्रमुख दलहरूले कार्यकर्ता भेटघाट, बैठक, सभालगायतका कार्यक्रम जारी राखेका छन् । चुनावी माहोल तात्दै जाँदा नगरपालिकाप्रमुख तथा उपप्रमुखका लागि विभिन्न दलहरूबाट आकांक्षीहरूको संख्या थपिँदै गएको छ ।

घोडाघोडी नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । सबै दलहरूले अहिले टोल विस्तार अभियानलाई अघि बढाएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा घोडाघोडी नगरपालिकामा नगरप्रमुखसहित आधिकांश वडामा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भएका थिए । सो निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेको थियो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा घोडाघोडी नगरपालिकाका वर्तमान नगरप्रमुख तथा एमालेका जिल्ला उपसचिव ममता प्रसाद चौधरी नै दोहोरिने पक्षमा छन् । नगरप्रमुख चौधरीसँगै प्रदेश कमिटी सदस्य विष्णु चौधरी र नगर कमिटीका अध्यक्ष वक्त बहादुर शाहीको नाम पनि चर्चामा रहेको छ । अहिलेसम्म तीन जनाको नाम चर्चामा आएको भए पनि पार्टीका अन्य व्यक्तिहरू आकांक्षी रहेको बताइन्छ ।

२०७४ सालको निर्वाचनमा सो नगरपालिकामा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्रका आकांक्षीहरूको नाम पनि चर्चा भइरहेको छ । माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा एमालेका ममताप्रसादसँग पराजित लक्ष्मण चौधरी ‘संयोग’को नाम बढी चर्चामा रहेको छ । लक्ष्मणसँगै सोही निर्वाचनमा उपप्रमुख पदमा पराजित दुर्गा चलाउने ‘ममता’ पनि अब आउने निर्वाचनमा नगरप्रमुख पदको दाबेदार रहेकी छिन् ।

सो पार्टीबाट नगरप्रमुख पदका लागि नैन बहादुर चौधरी, सुखी राम चौधरी, पुष्कल बम, लक्ष्मी प्रसाद भट्टराई, खगेन्द्र हमाल र विष्णु सापकोटा नाम चर्चामा रहेको छ ।

२०७४ को निर्वाचनमा तेस्रो दल बनेको नेपाली कांग्रेसबाट पनि २०७४ मा नगरप्रमुखमा पराजित रिता चौधरीले आगामी निर्वाचनमा नगरप्रमुख पदमा दाबी गरेकी छिन् । उनीसँगै कांग्रेसबाट हेम बहादुर बम, लक्ष्मी जोशी, हरि मल्ल, बम बहादुर सिंह र विमल प्रकाश जोशीको नाम चर्चामा रहेको छ ।

नेकपा एमालेबाट विभाजन भई माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीबाट नगरपालिका प्रमुख पदमा आकांक्षी पाँच जना रहेका छन् । सो पार्टीबाट वर्तमान उपप्रमुख प्रेमकुमारी थापाले नगरप्रमुख पदको दाबी गरिरहेकी छिन् ।
उनीसँगै खड्क रावत, मेघ साउद, खेम जोशी र पूर्णराज जोशी पनि नगरप्रमुख पदमा आकांक्षी रहेको बताइएको छ ।

२०७४ को निर्वाचनमा पाँचौँ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अहिलेसम्म एक जनाको नाम मात्र चर्चामा छ । भर्खरै एमालेबाट राप्रपा प्रवेश गरेका नीरज मल्ल राप्रपाबाट नगरप्रमुख पदमा निर्वाचनमा लड्ने चर्चा रहेको छ । उनी दरख सुखड खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।

एमालेका नेता विष्णु चौधरीलगायतका उम्मेदवारलाई हराएर खानेपानीको अध्यक्ष भएका मल्ल केही समयअघि भएको एमाले जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा पराजित भएका थिए । त्यसको केही समयपछि उनी राप्रपा प्रवेश गरेका हुन् । उनले टिकट पाए जित्ने राप्रपाको दाबी छ ।

२०७४ को मतपरिणाम

नेकपा एमाले विभाजन भएसँगै घोडाघोडी नगरपालिकामा माओवादी केन्द्र बलियो बनेको छ । २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीसँग नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण चौधरी नौ सय २७ मतले मात्र पराजित भएका थिए ।

यही मतलाई आधार मान्दा घोडाघोडीमा माओवादी केन्द्रको बलियो पकड रहेको देखिन्छ । २०७४ सालको निर्वाचनमा सो नगरपालिकामा २० हजार तीन सय ७३ महिला र १९ हजार तीन सय आठ गरी ३९ हजार छ सय ८१ मतदाता रहेकोमा २९ हजार छ सय ३० मत खसेको थियो जसमध्ये सात सय ७४ मत बदर भएका थिए ।

नेकपा एमालेका ममता कुमार चौधरी आठ हजार एक सय ६४ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार लक्ष्मण चौधरीले सात हजार दुई सय ३७ मत प्राप्त गरी दोस्रो दल बनेको थियो ।

नेपाली कांग्रेसका रिताकुमार चौधरी छ हजार दुई सय दश मत प्राप्त गरी तेस्रो दल बनेको थियो भने मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का उम्मेदवार चन्द्रकुमार चौधरीले एक हजार पाँच सय ४८ मत प्राप्त गरी चौथो दल बनेको थियो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका छोटेलाल चौधरीले एक हजार दुई सय ५२, नयाँ शक्ति पार्टीका नेपालका दिपेन्द्रबहादुर शाहले एक हजार दुई सय ३८, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवाद–लेनिनवाद)का गमे साउदले तीन सय ५७, राष्ट्रिय जनमोर्चाका बाबुराम आचार्यले ७६ र स्वतन्त्र स्वतन्त्र उम्मेदवार सन्तोष कठायतले ६६ मत प्राप्त गरेका थिए ।

५० हजार नाघ्यो मतदाताको संख्या

आगामी स्थानीय तहको निर्वाचनमा घोडाघोडी नगरपालिकामा ५० हजार बढी मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार सो नगरपालिकामा ५२ हजार हजार मतदाता पुगेका हुन् ।

कार्यालयका अनुसार सो नगरपालिकामा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । आगामी निर्वाचनका लागि २६ हजार छ सय ४७ महिला र २५ हजार तीन सय ९३ पुरुष मतदाता रहेका छन् ।

२०७४ सालको निर्वाचनमा सो नगरपालिकामा २० हजार तीन सय ७३ महिला र १९ हजार तीन सय आठ गरी ३९ हजार छ सय ८१ मतदाता रहेका थिए । निर्वाचन कार्यालयका अनुसार नगरपालिकामा १७ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?