सुदूरपश्चिमको कुन-कुन जिल्लामा भयो गठबन्धनको निर्णय ?

लोकपथ
403
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच दलीय गठबन्धनको पक्षमा जाने निर्णय गरिसकेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशको कञ्चनपुर, अछाम र डडेल्धुरा समितिले पाँच दलीय गठबन्धन पक्षमा जाने निर्णय गरेको हो ।

सत्तारूढ गठबन्धनमा सहभागी सुदूरपश्चिमका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् । ‘तालमेलबारे सामान्य छलफल भएको छ’, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भने, ‘सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुंगोमा पुर्‍याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।’

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । ‘यसको आंकलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ’, बैठकमा सहभागी नेताहरुले भने ।

आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।

अछाममा स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेका छन् । अछाममा तीन राजनीतिक दलले स्थानीय तह चुनावमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका हुन् ।

सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरेको छ । आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तुलाराम बोहराले जानकारी दिए ।

यसका साथै सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन्् । निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको अध्यक्ष बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?