काठमाडौं । बैंकिङ क्षेत्रमा औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ४८ खर्ब ७७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा मात्र भने एक दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब २९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो ।
विकास बैंकहरुमा भने औसतमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरु सञ्चालनमा रहेको र ती संस्थाहरुले चार खर्ब ७२ अर्ब २१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा भने सात दशमलव ७७ प्रतिशत पुगेको छ ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये केही फाइनान्सहरु केही समयअघि माक्र समस्याग्रस्त संस्थाबाट मुक्त भई सुधारको चरणमा रहेकाले पनि वाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा फाइनान्सहरुमा औसत निष्क्रिय कर्जा बढी देखिएको राष्ट्र बैंकको भनाइ छ ।
पछिल्लो अवधिमा फाइनान्सहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमश ९४ अर्ब एक करोड ३० लाख र ८८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया