बाढीपहिरोले आठ जनाको मृत्यु

काठमाडौँ– बिहीबार वर्षाका कारण बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ ।
केन्द्रका प्रमुख शङ्करहरि आचार्यले भक्तपुरमा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यसैगरी, रुपन्देहीमा दुई जना, कपिलवस्तुमा एक जना, झापामा एक जना र बागलुङगमा एक जनाको मृत्यु भएको छ । दाङमा एघार जना तथा रसुवा, बैतडी र चितवनमा एक/एक गरी १४ जना घाइते भएका छन् । कपिलवस्तुमा एक जना वेपत्ता भएको केन्द्र प्रमुख आचार्यले जानकारी दिनुभयो ।
नेपाल प्रहरीको समाचार कक्षका अनुसार, अविरल बर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा घर भत्केर ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया श्रीमती पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामा छन् ।
भक्तपुरमा मृत्यु भएकाकोे परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?