देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार छ’

लोकपथ
98
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन् ।

मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रह समेत गरे ।

रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरवारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्‍याउन जरुरी रहेको पनि बताए ।

सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो । उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे । मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारे ।

उनले भने, ‘अझै पनि देशको सतप्रतिशत भूभागमा रेडियो नेपाल सुनाउन यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ । वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपाल समय सुहाउँदो नविनतम प्रविधिहरुको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ । र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्यालाई र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ । राष्ट्रिय प्रशारण संस्था, नेपाली माटोको आवाज हुनुको मूल मूल्य अझै माथि उठाउनु छ । बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरिरहेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको आन्तरिक जीवनलाई अझ बलियो बनाउनु छ । देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जानकार छ । प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडिया आवश्यकताअनुरुप यसलाई अझै धेरै ढंगले परिमार्जन गर्न जरुरी छ । यसका लागि हरतरहले सघाउन र राष्ट्रको यस धरोहरलाई नयाँ उचाइमा लैजान मन्त्रालय तयार छ । यसको सफलताको निम्ति रेडियो नेपालका सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुको भूमिकमा उत्तिकै महत्वपूर्ण हुन्छ ।’

मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाइमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आबद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?