तनहुँ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्न थालिसकेका छन् ।
तर, पछिल्लो डेढ दशकमा भएका निर्वाचनमा सहभागी तनहुँका मतदाताको तथ्यांक हेर्दा ४७ प्रतिशतसम्म मतदाता मतदानमा सहभागी नै नभएको रेकर्ड छ । यद्यपि, बदर मत भने हरेक निर्वाचनमा घट्दोछ ।
यसपालि जिल्लामा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् ।
सशस्त्र माओवादी द्वन्द्वपछि पहिलो पटक २०६४ सालमा भएको निर्वाचनमा जिल्लामा ४७ दशमलव ५८ प्रतिशत मतदाताले मतदान गरेका थिएनन्नै । जिल्ला निर्वाचन कार्यालय तनहुँले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त निर्वाचनमा कुल दुई लाख ६७ हजार ६ सय १८ मतदाता थिए ।
निर्वाचनमा एक लाख ४० हजार दुई सय ९३ मत मात्रै खस्यो । झन्डै आधा मत खसेन् । ५२ दशमलव ४२ प्रतिशत मत खसेको थियो । खसेको मतमा पनि सात हजार नौ सय ५० बदर भएको तथ्यांक छ । ५ दशमलव ६६ प्रतिशत मत बदर भएको थियो ।
२०७० सालमा भएको निर्वाचनमा मतदान गर्नेको संख्या निकै बढ्यो । जिल्लामा कुल मतदाताको संख्या एक लाख ६२ हजार सात सय ६८ थियो । निर्वाचनमा ७३ दशमलव ५२ प्रतिशत अर्थात एक लाख १९ हजार ६ सय ६३ मत खस्यो । र पाँच हजार ३३ मत बदर भएको देखिन्छ । मतदानमा सहभागी भएकामध्ये पनि ४ दशमलव ६२ प्रतिशतले सही तरिकाले मतदान गरेनन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार नौ सय ४४ मत मात्रै खसेको थियो । ६८ दशमलव ३७ मतदाता मात्र मतदान प्रकृयामा सहभागी भएका थिए । स्थानीय तह निर्वाचनमा खसेको मतको पनि २ दशमलव ५३ प्रतिशत मत बदर भएको थियो । तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
सोही वर्ष भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा झनै कम मतदाता सहभागि भए । एकैदिन भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि फरक फरक संख्यामा मत खसेको छ ।
यसबेला दुई लाख ११ हजार तीन सय ९६ कुल मतदाता थिए । प्रतिनिधि सभामा एक लाख ३६ हजार दुई सय ६१ र प्रदेश सभामा एक लाख ३६ हजार दुई सय २१ मत खस्यो । ६४।४३ मत खसेको तथ्यांकले देखाउँछ ।
प्रतिनिधि सभामा ६ हजार ६ सय ६५ अर्थात ४.८९ प्रतिशत मत बदर भयो । प्रदेश सभामा चार हजार ६ सय १४ मतदाताले ढंग पुर्याएर मतदान गरेनन् । प्रदेश सभातर्फ ३ दशमलव ३८ प्रतिशत मत बदर भयो । एकैदिन भएको मतदानमा पनि मतदान र बदर भएको मतमा घटबढ देखियो ।
पछिल्लो डेढ दशकमा सबैभन्दा कम २६ दशमलव ४८ प्रतिशत र बढी ४७ दशमलव ५८ प्रतिशत मतदाताले मतदान गरेनन् । किन यति धेरै मतदाताले मतदानमा सहभागिता जनाउँदैनन् ? निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकाल भन्छन्, ‘व्यक्ति स्वयं मतदानमा उपस्थित हुनुपर्छ । मतदाता नामावली भएका तर वैदेशिक रोजगारीमा धेरै हुने भएकाले मतदाताको तुलनामा मतदान कम हुन्छ ।’
विदेशमा भएकालाई मतदान प्रकृयामा सहभागी गराउने प्रणाली नभएको कारण करिब एक तिहाइ मत नखस्ने गरेको उनी बताउँछन् ।
‘यहाँ मतदाता नामावली छ । मान्छे बाहिर हुनुहुन्छ । त्यो कारणले गर्दा पनि कम मत खस्ने भयो । अर्को कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको नामावली घर ठेगानामा छ । मतदानमा सहभागी हुुन उहाँहरू पाउनु हुँदैन् । कतिपय मतदाताले कसलाई मतदान गरेर के नै पो हुन्छ र रु भन्ने ठानेर मतदान प्रकृयामा सहभागी नै नभएको पाइन्छ ।’
फोटोसहितको मतदाता नामावली सुरु भएपछि मतदानको अनुपात बिस्तारै बढ्दै गएको ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया