बाँके । बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ ।
हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेपनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका हुन् ।
पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या बजारमा शुन्य भएको स्थानीय व्यापारीहरु बताउँछन् । २०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ ।
हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्दछन् । राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको बताउछन् स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्मा ।
राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको उनको भनाइ छ । हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए । हरेक हप्ताको शनिवार मेला लाग्ने गरेको हुन्छ ।
लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउनुहुन्छ पशु व्यापारी प्रेम नारायण सोनकर । उनले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताए । उनले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताए ।
त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउनु हुन्छ । पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उनले बताए ।
त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भएपनि अहिले आउन छोडेको बताए । गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उनले बताए ।
किसानहरुले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरेपनि मेलामा देखा पर्दैनन् । अवश्यक परेको मानिसहरुले गाँउबाटै गोरु किनमेल गरिरहेको उनको भनाइ छ । गोरु बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसहरुले आसपासमै छोडेर जाने गरेको पनि उनले बताए ।
एकतिर पशु हाटबजारमा गोरु देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरु छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन् । छाडा गोरुलाई धेरै गाउँपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया