निर्वाचनको मिति नजिकिएसँगै वीरगञ्जमा राजनीतिक दलको सक्रियता बढ्दो

लोकपथ
84
Shares

वीरगञ्ज । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ ।

राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् ।

केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ । तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत सबै दलले चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पर्साका ग्रामिण भेगमा संगठन विस्तार गर्दै पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइरहेको छ । जिल्लाका विभिन्न नेता, कार्यकर्ताहरुलाई काठमाडौंसम्म पुर्‍याएर पनि पार्टी प्रवेश गराईरहेको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) सहित अन्य राजनीतिक दलहरुले पनि जिल्लामा चुनावी गतिविधि बढाउँदै छन् । राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी पार्टी प्रवेश, प्रशिक्षण, संगठन बिस्तारका कार्यक्रम गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारको चाहाना राख्नेहरु पनि व्यक्तिव्यक्तिसँगको भेटघाटमा व्यस्त देखिन्छन् । जिल्लामा एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन् । पर्सामा हालसम्म सत्तागठबन्धन मध्येको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बाहेकका सबै पार्टीका अध्यक्ष र शिर्ष नेताहरु आईसकेका छन् । चैत १० गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वीरगञ्ज पुगेर नेता, कार्यकर्तालाई प्रशिक्षण दिदैँ स्थानीय तहको निर्वाचनमा जित्ने गरी खट्न निर्देशन नै दिनुभयो । यस्तै चैत ७ मा मधेस आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

गत सोमबार वीरगञ्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए। तर, एमालेले आफूभन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएर जसपा प्रवेश गरेका हुन्। उनले आफूले मधेशको मुद्दा नछोडेको बताए। मधेशी दलहरुले मधेशको मुद्दा सम्बोधन गराउन लाग्ने उनको भनाई छ । उनले भने, ‘हामीले मधेशको मुद्दा छोडेको छैनौँ । आदिबासी, जनजाति दलित मुस्लिमको लागि संविधानमा सुनिश्चित हुनुपर्ने जुन मागहरु छ त्यसलाई सुनिश्चित गराएरै छाड्छौँ । एमालेमा गयो भने फाष्टट्रयाकमा हुन्छ भन्ने सोच थियो त्यसको अपोजिट हुन पुग्यो । ढिलै भएपनि मधेशी दलहरुले यो माग सुनिश्चित गराउँछ जस्तो मलाई लाग्छ ।’

गत २६ फागुनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्साको पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारलाई कांग्रेसमा प्रवेश गराए। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट मेयर बनेका रौनियार आगामी स्थानीय तह निर्वाचनमा टिकटका लागि नै कांग्रेस प्रवेश गरेको चर्चा छ । त्यसैगरी, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी नेकपा (एमाले) मा प्रवेश गरे। नगरप्रमुख सरावगीसँगै बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षलगायतलाई पनि एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । वीरगञ्ज महानगरप्रमुख सरावगीले एमाले अध्यक्ष ओलीले लिपुलेकलाई नेपाली नक्सामा हालेर नेपालको राष्ट्रियताको पहिचान स्थापित गराएकाले आफू त्यसबाट प्रेरित भएर एमाले रोजेको बताए। उनले भने, ‘ओलीजीले लिपुलेकको घटनाबाट नेपालको राष्ट्रियताको ठुलो पहिचान उहाँले स्थापित गराइदिनुभयो । र राष्ट्रसेवकको हिसाबले काम गर्नुभयो त्यसबाट म प्रेरित पनि भए । त्यसकारणले मैले एमाले रोजे ।’

त्यसैगरी, चैत ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल एमाले प्रवेश गरे । मधेसवादी दलकै लोकप्रिय नेतालाई भित्र्याएर उम्मेदवार बनाउँदा एमालेलाई ‘मधेश मुद्दा’ समेत आफैँसँग रहेको दर्शाउन सहज हुने तर्क स्थानीय नेताहरुको छ । पाँच वर्षअघि ‘एमाले हौं’ भनेर खुलेर हिँड्न नसक्ने पर्सामा आज मधेस आन्दोलनको अग्रभागमा रहेका नेताहरु नै एमाले प्रवेशका लागि तछाडमछाड गरिरहेका छन् । एमाले रुपान्तरित भएको र एमालेले विकासको मुद्दा बोकेकाले आफू एमाले प्रवेश गरेको नेता पटेलले बताए। उनले भने, ‘कुनै बेला एमालेले मधेशका मुद्दालाई सम्बोधन गर्न हिच्किचाएको थियो । तर अहिले नेकपा (एमाले) आफै रुपान्तरित भएर आएको छ । अब मधेशको पहिचान प्राप्त भइसकेपछि मधेशको विकास कसरी हुन्छ, त्यो ठुलो मुद्दा हो । एमाले नेपाललाई समृद्ध बनाउने काममा अगाडी बढेको हुनाले हामीले जसले मधेशको विकास गर्छ त्यो सँग जानु उचित हुन्छ । त्यसैले म अहिले नेकपा (एमाले) प्रवेश गरेको हुँ ।’

स्थानीय जानकारहरूका अनुसार यसपटक वीरगञ्ज महानगरपालिकामा एमाले, कांग्रेस र जसपाकैबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पर्साको स्थानीय तहको प्रमुखमा निर्वाचित भएका चारजना जनप्रतिनिधिहरुले आफू निर्वाचित भएको पार्टी छाडिसकेका छन् । जिल्लाको एक महानगरपालिका, एक नगरपालिकाका नगरप्रमुख र दुई गाउँपालिकाका अध्यक्षहरुले आफू निर्वाचित भएको पार्टी छाडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?