राजधानीमै सडक सास्ती, सम्बन्धित निकाय कसैले पनि सुनेनन्

काठमाडौं।डाक्टर अनिल देवकोटा काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङबाट पुरानो गुहेश्वरी, दगुर्नेपानी बाइपास–बालाजु हुँदै बसुन्धारा चौकीस्थित बीपी मेमोरियल अस्पताल दैनिक चारपटक आवतजावत गर्छन् । उनी आवतजावत गर्ने सवारीसाधन मोटरसाइकल हो । डा. देवकोटासँगै उनकी पत्नी पनि हरेक दिन बिहानै स्कुटर लिएर काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पताल पुग्छिन् ।
घरबाट निस्कने अन्य सडकको विकल्प नहुँदा सडकमा हुने हिलो र सवारीसाधन चिप्लिने समस्याले यो जोडी बर्षा नहोस् भन्ने प्रार्थना नै गर्छन् ।
‘पानी परेपछि यस क्षेत्रमा न पैदल हिँड्न सकिन्छ, न सवारीसाधन नै चलाउन सकिन्छ,’ बीपी अस्पताल धाउने डा. देवकोटा गुनासो गर्छन् । बर्षा भएको बेला हिलोको सामना गर्नुपर्ने यो सडकमा अन्य बेला धुलोले सास्ती दिन्छ । उनले मुख्य सडकको नालीसमेत व्यवस्थापन नगरिदिएकाले जनजागृति चोकभित्रको बाटोसमेत हिलाम्मे भएको बताए ।

हाल ५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरेको गुह्येश्वरी, बोहोराटार–लोलाङ, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौं–त्रिशूली जोड्ने पासाङल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भइरहेको ढिलाइले अहिले यस क्षेत्रका सर्वसाधारणलाई यात्रा गर्न सास्ती छ । सडक गत वैशाखअघि नै कालोपत्रे भइसक्ने हल्ला चलेको थियो । यसअघि केही ठाउँमा थालिएको ग्राभेलको कामसमेत त्यसै अलपत्र छ । ‘यो सडक होइन एक प्रकारको धराप हो,’ डा. देवकोटा भन्छन्, ‘यस्तो धरापमा ज्यान जोगाउने कि यात्रा गर्ने ?’

दुई वर्षदेखि थालिएको सडक निर्माणको काम बीचैमा अलपत्र परेपछि तारकेश्वर नगारपालिका–५ स्थित हरियाली समाजका अध्यक्ष रवीन्द्र पण्डित दिक्क छन् । सडकको दुर्दशा देख्दा दुरदराजको डगर पनि राम्रो देख्ने उनी हिँड्न नपरे हुन्थ्यो पनि भन्छन् । तर, विकल्प छैन ।
‘सम्बन्धित निकायमा बारम्बार सडक निर्माणको काम सम्पन्न गर्नका लागि भनेका थियौं तर कसैले पनि सुनेनन्,’ उनको गुनासो छ ।
आजभोलि यो सडकमा दुर्घटनाको जोखिम हुँदाहुँदै पनि दैनिक नहिँडी नहुने बाध्यतामा छन् यस क्षेत्रका बासिन्दा । सम्बन्धित ठेकेदार कम्पनीले समयमा निर्माणको काम नगरिदिएकाले अहिले यस सडकखण्ड मात्र नभएर काठमाडौंै उपत्यकालगायत मुलुकभरका सडकको अवस्थाको कथा कहालीलाग्दो छ ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा अहिले बालाजु बाइसधारा– बाइपासदेखि तारकेश्वर क्षेत्रको मात्र नभएर काठमाडौंकै चाबहिल–जोरपाटी–गोकर्णेश्वरको साँखु सडकखण्डको अवस्था पनि उस्तै छ । बालाजुस्थित बाइसधारा पार्क प्रवेशद्वार अगाडिदेखि बाइपाससम्मको हिलाम्मे चिप्लो सडकका धेरै ठाउँमा ठूला ढल निकासमा प्रयोग भएको मंगलको बिर्कोसमेत नभएकाले अहिले यहाँको सडक यात्रा जोखिमपूर्ण छ । सडकको बीचभागमा ठाउँ ठाउँमा खाली छोडिएका ठूलाठूला भ्वाङभित्र खस्ने त्रासले स्थानयवासी निकै चिन्तित छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?