जनजाति बाहुल्य काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँमा ‘सामुदायिक पाहुनाघर’ निर्माण गरिएको छ । वडाको रु ३३ लाख बजेटबाट चारकोठे पाहुनाघर बनेको हो । भवनको जग्गामा भने स्थानीयवासीको रु पाँच लाख परेको छ ।
वडाध्यक्ष केशव थापाकाअनुसार पाहुना घर सञ्चालनको अन्तिम तयारीमा छ । अहिले भित्री साजसज्जा र सामग्री व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । “बाहिरबाट आगन्तुक आउँदा व्यवस्थित आवास र सत्कारका लागि पाहुना घर बनाएका हौँ”, वडाध्यक्ष थापाले भने, “आमा समूहले यसलाई सञ्चालन गर्छ, छुट्टै कार्यविधि पनि बन्दैछ ।” पाहुना घरको नियमित सञ्चालन खर्च धान्ने गरी न्यून शुल्क लिने गरी कार्यविधिमा व्यवस्था हुँदैछ । वडामा कर्मचारी आउँदासमेत गाउँमा खाना र बासको उचित प्रबन्ध हुन नसकिरहेको स्थितिले गर्दा पाहुना घरको सोच आएको वडाध्यक्ष थापाको भनाइ छ । पाहुना घरमा एकसाथ १२ जनासम्म बस्न सक्ने क्षमता छ ।
भान्छा र सानो बैठक कक्ष पनि त्यहाँ छ । पाहुना घर परिसरमा बगैँचा निर्माण, घेराबार र प्रवेशद्वार निर्माणको काम पनि भइरहेको छ । स्थानीयवासी विष्णु आलेले वडाको केन्द्र ठूलो गाउँमा पाहुना घर बन्नु सबैका लागि सुखद् भएको बताए ।
वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायत पूर्वाधार त्यही वरिपरि छन् ।
गाउँमा भित्रने आन्तरिक पर्यटकले पनि पाहुनाघरबाट लाभ लिन सक्ने उनको भनाइ छ । सामुदायिक अवधारणाबाट पाहुनाघर सञ्चालन गरिने वडाले कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया